धनकुटा नगरको ठाडो बजारबाट पश्चिमतिर सल्लेरी वनको बाटो हुँदै तेर्सिंदा कचिडे नामको एउटा सानो बस्तीमा पुगिन्छ । यो ठाउँ सानो छ, तर यसको नाम ठुलो छ ।
कुनै बेला पूर्वमा वानाको रेग्मी, याकुको ढकाल, फलाटेका वस्ती, कुरुलेका बराल भनेजस्तै कचिडेका पोखरेलहरू पूर्वीय दर्शनका शास्त्रज्ञ गनिन्थे ।
इतिहासकार प्रा.डा. तीर्थप्रसाद मिश्रकाअनुसार भीमसेन थापाको समयमा खोटाङको सिम्पानीबाट कचिडे बस्न आइपुगेका हुन्, पोखरेलहरू । उनीहरूसँगै भाञ्जा खलक मिश्रहरू पनि आए । प्रा.डा. मिश्र आफै कचिडेका पोखरेलका भाञ्जा हुन् ।
धनकुटाको निशान भगवतीस्थानमा रहेको काजी जसपाउ थापाले ठड्याएको शिलालेखमा उल्लेख भएअनुसार यहाँ वि.सं. १८७९ मा कोतखाना स्थापना गरिएको थियो । त्यसभन्दाअघि काजी बहादुर भण्डारी धनकुटा आएर वि.सं. १८७६ मा यहाँ भीमसेनस्थानको गुठी राखेको इतिहास योगी नरहरिनाथको ‘इतिहास प्रकाशमा सन्धिपत्र सङ्ग्रह’ भाग १ (२०५५ः३०४)मा पढ्न पाइन्छ । यी काजी मुख्तियार जनरल भीमसेन थापाको आदेशबाट प्रशासनिक जिम्मा लिएर वि.सं. १८७५ मै विजयपुरबाट धनकुटा उक्लेका थिए (ज्ञानमणि नेपाल, ‘नेपाल निरूपण’–२०५५ः२६९) ।
यताबाट हेर्दा पहिले दक्षिणतिर विजयपुर र उत्तरतिर चैनपुरबाट पूर्वी नेपालको प्रशासन चल्दै आएकोमा काजी बहादुर भण्डारीलाई हाकिम बनाएर पठाइएपछि क्रमशः धनकुटा पूर्र्वकै प्रशासनिक केन्द्रका रूपमा विकसित हुन थालेको हो । त्यसैले हामी प्रशासनिक केन्द्र धनकुटाका पहिलो हाकिम काजी बहादुर भण्डारी हुन् भन्ने ऐतिहासिक प्रमाण पेश गर्न सक्छौँ ।
यसरी भीमसेन थापाको समयमा धनकुटा पूर्वको सैनिक र प्रशासनिक केन्द्रका रूपमा विकसित हुन सुरु गर्दै गर्दा सिम्पानीका पोखरेलहरू पनि राज्यबाट जिम्मा पाएर धनकुटा पुगे । उनीहरूले कचिडेमा आफ्नो बस्ती बसाए, छेवैमा भाञ्जाखलक मिश्रहरूलाई पनि राखे ।
सिम्पानीबाट सबैभन्दा पहिले धनकुटा पुग्ने पोखरेल हुन्, सदानन्द पोखरेलका छोरा राजपुरोहित यज्ञपति । उनका पनाती रामनाथकी जीवनसङ्गिनी जानुकादेवी वस्तीबाट तीन छोरा यज्ञनिधि, देवीप्रसाद र वेधनिधि जन्मे । उमापति पनि भनिने वेधनिधि (वि.सं. १९३१–१९९६) आफ्नो समयमा पूर्वीय वाङ्मय र अध्यात्मदर्शनका ज्ञाताका रूपमा प्रतिष्ठित थिए (प्रा.डा. तीर्थप्रसाद मिश्र, “कचिडेदेखि काठमाडौंसम्म फर्केर हेर्दा”–२०७८ः१) ।
उनै वेधनिधिका चार छोरा भए; नरपति, छविलाल, नारायणप्रसाद र शिवप्रसाद । नरपति आफ्नो समयका प्रख्यात आयुर्वेद चिकित्सक हुन् भने डा. शिवप्रसाद एलोपेथिक चिकित्सक । लामो समय प्राध्यापन पेशामा रहेका छविलाल पूर्वी नेपालका प्रख्यात पण्डित हुन् । उनलाई सम्मान गर्नेहरूले “पूर्वका ब्यास” पनि भन्थे । एक दलितको घरमा सप्ताह पुराण वाचन गरिदिएकाले छुवाछुत विरोधी पण्डितका रूपमा पनि उनको नाम प्रख्यात हुनपुग्यो ।
यता जेठा नरपति आयुर्वेद चिकित्सक हुनुका साथै इतिहास लेखनका क्षेत्रमा पनि सक्रिय थिए । उनले वि.सं. १९९२ मा ‘क्षयरोग’ नामको पुस्तिका प्रकाशनमा ल्याए । यो पुस्तिका नेपालकै पहिलो स्वास्थ्य क्षेत्रको लेखन मानिन्छ । ‘धनकुटाको इतिहास’ लेखेर उनले आफ्नो नाम इतिहासकारका रूपमा पनि स्थापित गरेका छन् । उनी धनकुटाका पहिलो इतिहासकार हुन् ।
नरपतिका सन्तानमध्ये डा.रामप्रसाद पोखरेलले नेपालमै नेत्रचिकित्साको क्षेत्रमा ठुलो नाम कमाए । धनकुटाको आँखा अस्पताल उनकै नाममा समर्पण गरिएको छ, डा. रामप्रसाद पोखरेल आँखा अस्पताल । नरपतिकी छोरी डा. दुर्गा पोखरेल हुन् । जस्तो नाम त्यस्तै काम; शास्त्रहरूमा वर्णित कालीजस्तै, चण्डीजस्तै; आँटी, साहसी अनि विद्रोही । पञ्चायतकालभरि उनी तत्कालीन व्यवस्थाको आँखाको कसिङ्गर बनिरहिन् । उनलाई तत्कालीन व्यवस्थाले अनेक तरहले दुःख कष्ट दिइरह्यो ।
धनकुटाको पहिलो स्नातकोत्तर
कुनै बेला पूर्वकै शिक्षाको केन्द्र थियो धनकुटा । मध्य पहाडी क्षेत्रमा रहेको धनकुटामा अध्ययन गर्न उच्च पहाडी क्षेत्रबाट ओर्लने र मधेसबाट उक्लनेहरू भीड लाग्थ्यो । विराटनगरमा भन्दा पहिलो वि.सं. २०१२ मा धनकुटामा कलेज स्थापना भएको हो । लामो समय धनकुटा कलेजमा पढाएका कचिडेकै हेमचन्द्र पोखरेलले धनकुटामा कलेज खुलेको घटनालाई कवितामा यसरी पोखेका छन् :
कलेज खुल्यो यो सानो टाउनमा
१४ गते १२ साल साउनमा…।
यही कलेजमा स्नातक सकेर पहिलोपटक स्नातकोत्तर तह पढ्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पाइला हाल्ने धनकुटाका स्थानीय चार छात्रामध्ये दुर्गा पनि एक थिइन् । उनको साथ बिच बजारकी विमला श्रेष्ठ, माथिल्लो कोप्चेकी गङ्गादेवी श्रेष्ठ र कचिडेकी गीता पोखरेल थिए । यी चारै जनाले स्नातकोत्तर तहको अन्तिम परीक्षा दिइसक्ने बित्तिकै कलेज सञ्चालक समितिका सचिव रामकृष्ण श्रेष्ठले उनीहरूलाई चिठ्ठी लेखेर धनकुटा कलेजमा प्राध्यापनका लागि आमन्त्रण गरे । चारै जनाले २०२८ देखि कलेज पढाउन सुरु गरे ।
कलेज पढाउनुअघिदेखि नै दुर्गा चाहिँ ब्यवस्थाविरोधी गतिविधिमा संलग्न थिइन् । पूर्वकै केन्द्र धनकुटामा राज्यले प्रशासनिक व्यवस्थालाई कडाई गर्दा प्रशासनको नजरमा आँखाको कसिङ्गर बनेकी उनलाई त्यहाँबाट तत्कालै सरुवा गरियो । पद्मकन्यामा सरुवा भएकी उनको पढाउँदा पढाउँदै प्राध्यापकको जागिर खोसियो, वि.सं. २०३२ मा ।
सडकमा बुटपालिस गर्ने बाहुनकी छोरी
प्राध्यापन पेशा सुरु गरेको चार वर्ष मात्रै भएको थियो । व्यवस्थाविरोधी गतिविधिमा प्रत्यक्ष होमिएकी दुर्गालाई विश्वविद्यालय प्रशासनले पनि सकेसम्म अप्ठ्यारो कामतिर होमिदिने गरेको थियो । त्यसबेला राष्ट्रिय विकास सेवा (राविसे) थियो, विद्यार्थीले पढाइ सकिएपछि स्वयम्सेवा गर्न केही महिना अनिवार्य रूपमा खटाइएको गाउँ जानुपर्ने । त्यो हेर्ने जिम्मा लिन हत्तपत्त प्राध्यापकहरू मान्दैनथे, तर उनले सहजै रूपमा त्यो जिम्मेवारी पनि पूरा गरेकी थिइन् ।
प्राध्यापन पेशामै रहँदा त्यसबेलाको संस्थापन पक्षबाट उनले मुद्दामामिला पनि खेप्दै आएकी थिइन् । उनले विश्वविद्यालयमा पढाइरहेकै बेला त्रिविको आर्थिक विकास तथा प्रशासन केन्द्रले अन्तर्राष्ट्रिय नारी वर्षका सन्दर्भमा आयोजना गरेको महिला गोष्ठीमा तत्कालीन महिला सङ्गठनको जिम्मेवार व्यक्तिबाट प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै उनले “साक्षरता निम्ति प्राप्त कोष र वस्तुहरूको समुचित उपयोग भएको छ छैन” भनी प्रश्न गरेकी थिइन् ।
तर यस जिज्ञासापूर्ण प्रश्नलाई आफूविरुद्धको गाली बेइज्जती भएको ठानी तत्कालीन भूतपूर्व राष्ट्रिय पञ्चायत सदस्य भद्रकुमारी घलेले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् तर अदालतले दुर्गालाई सफाइ दियो ।
पञ्चायतकाल पनि कस्तो ? बौद्धिक बहसमा प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्न पनि नहुने ।
यस्ता अनेकौँ व्यवधानसँग जुझ्दै विश्वविद्यालयमा पढाइरहेका बेला त्यसबेला केही प्राध्यापकहरूलाई त्रिविले सेवाबाट बर्खास्त गर्यो । वि.सं. २०३२ साउनमा बर्खास्तमा परेका १७ जना प्राध्यापकमध्ये दुई जना महिला थिए । यी दुई मध्ये एक जना साहना प्रधान र अर्को दुर्गा पोखरेल । साहना र दुर्गाको जागिर खोसिनुको मुख्य कारण थियो, उनीहरूको व्यवस्थाविरोधी राजनीतिक गतिविधि ।
यसरी प्राध्यापन पेशाबाट बर्खास्तीमा परेपछि दुर्गाले सडकमा बसेर बुटपालिस गर्ने निधो गरिन् ।
सडकमा बुटपालिस, त्यो पनि एक महिलाले । अझ त्यसमाथि भर्खरै बर्खास्तीमा परेकी ब्राह्मण जातिकी अनि उच्च शिक्षित प्राध्यापकले ।
यसबारे लेखक प्रकाश गुरागाईँले आफ्नो पुस्तक ‘जङ्क्सन पिपलबोट : नयाँ सडकको कथा’ (२०७९ः१८३–८६)मा गजबले उल्लेख गरेका छन् ।
त्यसबेला उनका दाजु डा. रामप्रसाद पोखरेलको क्लिनिक नयाँसडकमै थियो ।
उनी दाजुसँगै बस्थिन् । आन्दोलित मनस्थितिकी दुर्गाले बुटपालिसका लागि आवश्यक सामग्रीहरू ब्रस, पालिसलगायत किनिन् र पीपलबोट र रमागृहको बिचतिर अरूसँगै पालिस लगाउन बसिन् । यसरी सार्वजनिक ठाउँमा बुटपालिस गर्न बस्ने पहिलो महिला थिइन् उनी । उनलाई हेर्नेको ठुलै ताँती लागेको थियो । वि.सं. २०३२ को साउनको अन्तिम सातादेखि भदौको पहिलो साता १५ दिनसम्म उनी बुटपालिस गर्न बस्दा आफ्नो पछाडि साइनबोर्ड पनि राखेकी थिइन्, “प्रोफेसरदेखि बुटपालिससम्म” ।
उनको यसप्रकारको आन्दोलनले ठुलो चर्चा पाएको थियो भने सहोदर डाक्टर दाजु भने रिसले चुर भइरहेका थिए । परिवारका सदस्य कोही पनि उनीदेखि खुसी हुने कुरै भएन । बाबुले धनकुटाबाट चिठी लेखेर रिस पोखे,“आफूले धेरै पढाए पनि बाहुनकी छोरीले जुत्ता पालिस गरेर इज्जत जाने काम गरिस् ।”
प्रशासनको नजरमा पनि उनी आँखाको तारो बनेकी थिइन् । सूर्यप्रसाद श्रेष्ठ अञ्चलाधीश थिए । ख्यातीप्राप्त नेत्रचिकित्सक भएकाले उच्च वर्गसँग दाजु डा. रामप्रसाद पोखरेलको चिनजान तथा मिल्ती हुने नै भयो । अञ्चलाधीश श्रेष्ठले डा. रामप्रसादसँग दुर्गाको कारण आफू अप्ठ्यारोमा परेको गुनासो गरेछन् । दाजुले त्यो गुनासो सुनाउँदै बहिनीलाई भनेछन्, “तैँले मेरो जागिर खाइदिने भइस् ।”
यी सबैको दबाबले दुर्गालाई छोएन । उनीसँग जुत्ता पालिस लगाइमाग्नेमा त्यतिखेर प्रतिबन्धमा परेको काङ्ग्रेस पार्टीका नेता कृष्णप्रसाद भट्टराई तथा बासु रिसालहरू पनि थिए । उनले बुटपालिसको कुनै दर तोकेकी थिइनन्, जसलाई जति मन लाग्छ, त्यति दिन्थे । आखिर यो त उनको ब्यवसायभन्दा पनि एउटा आन्दोलन थियो, तत्कालीन व्यवस्थाप्रतिको व्यङ्ग्य थियो ।
पछि अञ्चलाधीश श्रेष्ठले दुर्गालाई पालिस गरेर बस्नुभन्दा जुत्ता ल्याएर बेच्ने सल्लाह दिए । आखिर उनको प्रतीकात्मक आन्दोलनले तत्कालीन निरङ्कुश व्यवस्थाको कानमा बतास परेकै थियो । उनले दार्जिलिङबाट छालाको जुत्ता ल्याएर बेच्ने निर्णय गरिन् । अञ्चलाधीश श्रेष्ठहरूकै तजबिजमा उनले भृकुटी मण्डपमा एउटा स्टल भाडामा पाएकी थिइन् । त्यहाँ पनि साङ्केतिक आन्दोलन छँदै थियो, उनका ल क्याम्पसमा पढ्दाताकाका साथी सुरेश न्यौपानेले साइनबोर्ड लेखाएर ल्याइदिएका थिए, “प्रोफेसरको जुत्ता पसल” । फेरि दुर्गाकै कारण आफू अप्ठ्यारोमा परेको गुनासो अञ्चलाधीश श्रेष्ठले उनका दाजु डा. रामप्रसादसँग गरे, बुबाको निरन्तर दबाब छँदै थियो । अन्नतः तीन महिनापछि उनको जुत्ता आन्दोलनले विश्राम लिएको थियो ।
उनले बुटपालिस गरेर एकातिर पूर्वाग्रही विश्वविद्यालयविरुद्ध विद्रोहको विगुल फुकिरहेकी थिइन् भने अर्कातिर कानुनी लडाईं पनि लडिरहेकी थिइन् । कानुनी लडाईंका सम्बन्धमा उनले वि.सं. २०३४ साउन ३१ गते लेखेको दैनिकी यस्तो छ :
पेशी त्रि.वि.सको मुद्दा । गणेशराजजी र लक्ष्मणजीले हेर्ने । उताबाट शम्भु प्र. ज्ञवाली । आज मुद्दाको पेशी थियो । चेन्ज सीट थिएन । वीरेन्द्रकाँ गएँ रहेनछ । अर्जुनकाँँ गएँ छैन । नकल लिएर अंचलाधीशकाँ गएँ रहेछ । लिएर सर्वोच्च पुर्याएँ । खाना खाई फेरि गएँ । आखिर पेशी सारिदिएछ । डेरा आएँ । जिन्दगी यस्तै छ । बोर लाग्छ । दरभङ्गाबाट महेन्द्र यादव आएका प्रदीप दाइले पठाएकाले । के हो कसो हो, थाहा छैन ।
परिवारमै विद्रोह
पूर्व राजपुरोहित परिवार । पोखरेलमध्येको पानी पोखरेल उपाध्याय ब्राह्मण । तिनै परिवारमा जन्मेकी दुर्गाले कुनै दिन सडकमा बसेर जुत्ता पालिस गरी विद्रोहको विगुल फुक्लिन् भन्ने कल्पना कसले गरेका थिए होलान् ?
त्यसो त सानैदेखि दुर्गाले विद्रोही स्वभाव देखाउँदै आएकी हुन् । उनी तत्कालीन पञ्चायती व्यवस्था विरोधी आन्दोलनमा काङ्ग्रेसको भातृ संस्था ‘नेपाल विद्यार्थी सङ्घ’को झण्डा उचालेर सङ्घको धनकुटाजिल्लाको संस्थापक सभापतिको इतिहास रचना गरिसकेकी थिइन् । परिवारको सबैभन्दा कान्छो सन्तान हुन् उनी । एक यु ट्यूव वार्तामा उनले बताएअनुसार अरू छोराहरू हुँदाहुँदै बुबाले अन्तिममा पनि छोराको चाहना राख्दाखेरि छोरीको रूपमा दुर्गाको जन्म हुन पुग्यो । पढाइमा तेज उनले बारम्बार आफ्ना बुबासँग विज्ञान पढ्ने चाहना व्यक्त गर्दा बुबाको जवाफ हुन्थ्यो, “तँ छोरा भएको भए पो विज्ञान पढाउनु ?”
यस्तो लैङ्गिक विभेदपूर्ण परम्पराबाट परिवारमा गुज्रनुपर्दाका क्षणहरूले सानैदेखि विद्रोही स्वभावले उनको मस्तिष्कको तन्तु हल्लन सुरु भयो ।
विवाह गर्ने उमेर भइसक्दा पनि दुर्गाका लागि व्यक्तिगत खुसी र सुखको सवाल कहिल्यै पहिलो प्राथमिकताभित्र परेन । उनी त देश र समाज भन्दै दौडादौड गरिरहँदा कचिडेमा बुबा आमा र परिवारका सदस्यहरू छोरीको भविष्यको चिन्ताले व्यथित हुन्थे । एउटा असल ज्वाईंको हातमा छोरीलाई सुम्पन पाए आफ्नो वैतरिणी हुन्छ भन्ने सोचमा थिए, उनीहरू । यता छोरी भने आफ्नो निर्णयमा टसमस हुने होइन ।
एक दिन बुबाले छोरीको भविष्यप्रति ठुलो चिन्ता व्यक्त गर्दै पत्र पठाए । पत्रको व्यहोरा यस्तो छ :
तेरो राम्रो राम्रो ठाउँमा केटा खोजेर धेरै वर्षसम्म विवाह गरिदिने प्रयास गरियो मानिनस् र सधैँ फर्कनु पर्यो । त्यो के असल गरिस् ? मधेसमा तँलाई जीविकालाई जग्गा हामीले ठीक पारी राखेकै छ । मेरा नाउँमा छ तेरा नाउँमा गरिदिँदा तँ चञ्चल प्रकृतिकी हुनाले बेचिदेलिस् वा कसैलाई वकस देलिस् भनेर तेरा नाउँमा गरिएको छैन । स्त्री जातिलाई जहाँ दिइन्छ, त्यहाँ पुरा अंश पाउने हुनाले…।
छोरीप्रतिको यस्तो चिन्ता व्यक्त गर्दै बुबा नरपति पोखरेलले लेखेको पत्रको देब्रे किनारामा वि.सं. २०३१ भदौ ६ गते मिति उल्लेख छ । यतिबेला दुर्गा पद्मकन्या कलेजमा पढाइरहेकी थिइन् ।
तत्कालीन परिवेशमा अभिभावकको परम्परागत चिन्तनविपरीत दुर्गाले अनेकौँ विद्रोह गरिरहेका बेला वि.सं. २०३८ मा बुबा कविराज नरपति पोखरेलको देहान्त भयो । तर विद्रोही दुर्गाले भने अभिभावकप्रतिको दायित्त्वबाट आफूलाई पर राख्न सकेकी थिइनन् ।
बुबाको देहान्तमा उनी पनि आफ्ना दाजुहरूका साथ कपाल खौरेर काजक्रियामा बसिन् । अहिले पो कतिपय छोरीहरूले पनि कपाल खौरेर बाबुआमाको कोरा बसेको घटना समाचारमा छाउँछन् । र, यस्ता घटनाहरू सामान्यजस्ता लाग्न थालेका छन् । दुर्गाले जुन समयमा कपाल खौरेर आफ्ना बुबाको काजक्रिया गरिन्, त्यो बेला यो घटना अत्यन्तै अनौठो थियो, अनि एक विद्रोह पनि । दुर्गाले जन्मैदेखि बोकेर आएको विद्रोहको वेगलाई छेक्ने आँट गर्ने कसले ?
वेपत्ता पारिएका पहिलो पत्रकार
जागिरबाट बर्खास्तीमा परेपछि सङ्घर्षका अनेकौँ चरणमा गुज्रिरहेको थियो, दुर्गाको समय । उनका अगाडि केवल चुनौती मात्रै होइन, अनेकौँ जोखिमपूर्ण क्षणहरू पनि आइरहेका थिए । सिङ्गो राज्य उनीविरुद्ध खनिएको थियो ।
उनले पत्रकारितामा हात हालिन् । तर पत्रिका दर्ता गर्नु फलामको चिउरा चपाउनुसरह थियो । उनको पुलिस रेकर्ड राम्रो थिएन । अनेक जुक्तिबुद्धि लगाएर ‘मानस’ नामको साहित्यिक पत्रिका दर्ता गरेकी थिइन् । पछि त्यसैलाई साप्ताहिक रूपमा चलाउन थालिन् । उनका दुई सारथी थिए, श्रीशशमशेर र उपेन्द्रशमशेर राणा । उनीहरूबिच राजनीतिक विचारमा एक रूपता थिएन, तर व्यवसायिक साझेदारी थियो ।
यस साझेदारीमा दुर्गाको अक्कल थियो भन्दा पनि फरक पर्दैन । दुर्गा व्यवस्था विरोधी परिन् भने दुई साझेदार राणाहरू दरबार निकटस्थ थिए । उनीहरूलाई साथ लिँदा अखबार चलाउन सजिलो हुने बुझाइले पनि काम गरेको थियो ।
यसरी पत्रकारितालाई केही मिसन र केही व्यवसायिकताका साथ अगाडि बढाइरहेका बेला दुर्गाको जीवनमा एउटा जोखिमपूर्ण परिस्थिति आइपर्यो । त्यसबेला उनी मारिन पनि सक्ने सम्भावना थियो ।
तत्कालीन राजनीतिक शक्तिमा थिए, सूर्यबहादुर थापा, अर्कातिर नाम चलेकी “व्यवस्था विरोधी” दुर्गा पोखरेल । संयोगवश दुवै परे धनकुटाका । थापाको गाउँ मुगा र दुर्गाको धनकुटा नगरको एउटा टोल, कचिडे ।
भर्खरै सम्पन्न जनमत सङ्ग्रहबाट निर्दलीय पञ्चायती व्यवस्थालाई सामदाम र दण्डभेदको नीति लिएर जिताएपछि तत्कालीन पञ्चायती राजनीतिमा सूर्यबहादुर थापा राम्रैसँग हावी हुन पुगेका थिए । पञ्चायतलाई जिताएर पुरस्कारस्वरूप प्रधानमन्त्री पदमा भर्खरै नियुक्ति पाएका थिए ।
सूर्यबहादुरले दुर्गालाई गलाउने योजना बनाउँदा उनीमाथि लाग्यो, तत्कालीन नावालक युवराज दीपेन्द्रलाई अपहरणको योजना बनाएको अभियोग । अभियोग पनि साह्रै सङ्गीन । सक्रिय राजतन्त्र भएको समयको पञ्चायती व्यवस्थामा तत्कालीन युवराज दीपेन्द्रलाई अपहरण गर्ने योजना बनाएको अभियोग, बाफ्रे !
यसैक्रममा उनलाई चार महिना बेपत्ता बनाएर राखियो । उनलाई १८ दिनसम्म पुलिस क्लवमा लगेर राखिएको थाह छ । सञ्चार रजिष्टार कार्यालय, वागमती प्रदेशको प्रस्तुति “उहिलेको पत्रकारिता” (अप्रिल २४, २०२४) मा उनले उल्लेख गरेअनुसार उनी बेपत्ता पारिएका पहिलो नेपाली पत्रकार हुन् । अनेकौँ मानसिक दबाब दिइयो ।
खासमा उनीहरूको प्रेसमा दुई जना शङ्कास्पद व्यक्तिहरू आउँथे । यी दुवैलाई दुर्गाले भारतमा गिरिजाप्रसाद कोइरालाको डेरामा देखेकी थिइन् । काठमाडौँ आइपुगेका
उनीहरू दुर्गाको घरमा पनि बेला बेलामा पुग्ने गरेका थिए ।
यस्ता रहस्यमय व्यक्तिहरू पञ्चायतसँग साँठगाँठ गर्ने अमुक काङ्ग्रेस नेताले परिचालित गराएको दुर्गाले यस लेखकसँग व्यक्त गरिन् । त्यसबेला वीपी कोइराला राष्ट्रिय मेलमिलापको नारा लिएर स्वदेश फर्केका थिए । उनले राजा र आफ्नो घाँटी जोडिएको सन्देश दिइरहेका थिए । दुर्गा परिन्, वीपीको कट्टर अनुयायी अनि विश्वास पात्र । जनमत सङ्ग्रह अवधिभर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रेस जगत्सँग सम्पर्कमा रहने जिम्मेवारी बीपीबाट पाएकी थिइन्, उनले । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुरलाई वीपीको राष्ट्रिय मेलमिलापको नीति मन परिरहेको थिए । उनी काङ्ग्रेसकै एक अमुक नेतालाई प्रयोग गरेर बीपीको राष्ट्रिय मेलमिलापको नीतिमा भाँडभैलो मच्चाउन चाहन्थे । त्यसैले वीपीकै कट्टर अनुयायीहरूबाट बालक युवराज दीपेन्द्रको अपहरणको योजना भइरहेको भन्ने षडयन्त्र रचना गर्दै मानिस परिचालन गरी दुर्गा र अर्का काङ्ग्रेसका इमान्दार कार्यकर्ता शिवप्रसाद कङ्गाललाई फसाउन खोजिएको थियो तर दुर्गाका लागि हारगुहार गरिदिने परिवारकै प्रतिष्ठित सदस्यहरू तथा हृषिकेश शाहहरू भइदिएकाले उनको काराबास धेरै लामो हुन पाएन तर शिवप्रसाद कङ्गालको भने बिजोग भयो । उनी सात वर्ष जेल परे । जेलबाट निस्केपछि ठेलामा व्यापार गरेर गुजारा चलाए । पोखरामा भएको काङ्ग्रेसको महाधिवेशनमा उनी ठेला ठेल्दै महाधिवेशनस्थलमा पुगेको समाचार त्यसबेला छ्याप्छ्याप्ती भएको थियो ।
दुर्गा अहिले धमाधम आत्म वृत्तान्त लेखिरहेकी छिन् । त्यही आत्म वृत्तान्तमा वीपीको राष्ट्रिय मेलमिलाप भाँड्न सूर्यबहादुर थापासँग साँठगाँठ गर्ने तत्कालीन काङ्ग्रेस नेताको पोल खोल्ने तयारीमा छिन्, उनी । हेरौँ, को रहेछन् ती नेता !
यसरी कहिले प्रेसमा र कहिले आफ्नो घरमा आइरहने दुई रहस्यमय व्यक्तिबारे उनले आफ्ना व्यवसायिक साझेदार पत्रकारहरू श्रीश र उपेन्द्रशमशेरलाई पनि सूचित गरेकी थिइन् । दुर्गालाई बेपत्ता बनाइएका बेला पत्रिका चलाउन गाह्रो भएपछि श्रीशले तत्कालीन अधिराजकुमार धीरेन्द्रसँग दुर्गाको निर्दोषताका बारेमा कुरा गर्ने अवसर पाएछन् ।
त्यसबेला सुन्दरप्रसाद शाह वागमती अञ्चलका अञ्चलाधीश थिए । पहिले पटक पटक थुनामा परिसकेकी दुर्गाका बारेमा यी अञ्चलाधीश भन्थे रे, “यसलाई त एक गोली खुवाएर सिध्याउनु पर्छ ।” पछि चाहिँ “निर्दोष छिन् भने म छाडिदिन्छु” भनेछन् ।
“दुःखी” उपनाम राखेर साहित्य लेखनमा पनि सक्रिय कट्टर दरबारिया सुन्दरप्रसाद शाह राजा वीरभद्र शाहका साहिँला छोरा चौतरिया चन्द्ररूप शाहका सन्तति हुन् । चन्द्ररूपका हाँगा वीरबाहु, जीव शाह र प्राण शाह हुँदै प्राण शाहका कान्छा छोरा रणशेरका छोरा विष्णुप्रसादपछि मोहनप्रसाद र उनका छोरा राजेन्द्रप्रसादका छोरा हुन् सुन्दरप्रसाद (योगी नरहरिनाथ, “इतिहासप्रकाशमा भाग १”–२०५५ः६६०–६१) । सुन्दरप्रसादका पुर्खा रणशेरका जेठा दाजु तत्कालीन प्रधानमन्त्री फत्तेजङ्ग शाह र उनका साहिँला दाजु वीरबहादुर शाह कोतपर्वमा मारिएका थिए भने रणशेर भने भागेर बाँचेका थिए । यस्ता दरबारिया अञ्चलाधीश सुन्दरप्रसाद शाहले युवराज दीपेन्द्रलाई अपहरण योजनाको अभियोगमा समातिएकी दुर्गा पोखरेललाई “एक गोली खुवाएर सिध्याउनुपर्छ” भन्नु अस्वभाविक पनि होइन ।
सिङ्गो व्यवस्था नै आफूविरुद्ध आइपरेका बेला उनले काठमाडौंमा बस्न डेरासमेत नपाउने अवस्थासम्म सिर्जना गरिए ।
राजदरबार हत्याकाण्ड हुनुभन्दा पाँच वर्षअघि अमेरिकामा दुर्गाको तत्कालीन युवराज दीपेन्द्रसँग सौहार्दपूर्ण भेट भयो । नेपाली युवतीहरूले घेरिएर रहेका युवराज खाना खाने बेलामा आफ्नो नजिकै भएका देखेर दुर्गाले भनिछन्, “सरकारलाई मैले अपहरण गर्न खोजेकी थिइनँ है, पछि फेरि अर्को सजायँ भोग्नु नपरोस् नि !” ठट्टा गर्दै दीपेन्द्रले अङ्ग्रेजीमा भने, “अहिले अपहरण गर न त ।” दुर्गाले पनि भनिन्, “पाए गर्थेँ नि, यस्तो सुन्दर युवकलाई ।” उनले राजदरबार हत्याकाण्ड (२०५८ जेठ १९) लगत्तै “हिमालखबर पत्रिका” (२०५८ असार १–१५) मा तत्कालीन युवराज दीपेन्द्रसँग अमेरिकामा भएको भेटबारे संस्मरण लेखेकी छन् ।
गौरवपूर्ण जेलयात्रा
दुर्गाजस्तो विद्रोहीका लागि मुद्दा लाग्नु र जेल जानु सामान्य चर्याजस्तो हुने गरेको थियो । उनले जगन्नाथ देवलमा एक वर्ष कैदी जीवन बिताइन् । उनको जेल जीवनलाई प्रमाणित गर्दै कारागार व्यवस्थापन विभाग, कारागार शाखा, काठमाडौंले वि.सं. २०६६ कात्तिक १३ गते दिएको प्रमाणीकरण पत्रमा लेखिएअनुसार जिल्ला कार्यालय, काठमाडौंको आदेशले वि.सं. २०३८ जेठ २१ देखि २०३९ वैशाख १ गतेसम्म उनले शान्ति सुरक्षाअन्तर्गत बन्दीगृहमा बिताइन् ।
यसअघि पनि उनी केन्द्रीय कारागारमा ६ महिना राखिएकी थिइन्, पासपोर्ट दूरूपयोगको अभियोगमा । हङ्कङमा आयोजित एसियन ह्युमन राइटस्को कार्यक्रममा सहभागी भई त्यसको सदस्यमा निर्वाचित भएर फर्कदै गर्दा उनी विमानस्थलमै पक्राउ परिन् । उनको पासपोर्ट खोसियो । एक महिना उनलाई हनुमानढोका हिरासतमा राखियो ।
दुर्गाले केन्द्रीय कारागारको आफ्नो कैदी जीवनमा देखे भोगेको अन्य कैदी महिलाहरूको कथाव्यथा वासु शशिको सम्पादनमा त्यसबेला प्रकाशित भइरहेको पत्रिका ‘सञ्चय’ (वैशाख/जेठ २०३६ः१,२ र ६१–६४)मा मार्मिक ढङ्गले पोखेकी छन् ।
उनी कारागारमा पुग्दा सर्वाङ्ग नाङ्गा महिलाहरूले स्वागत गरे । ती मानसिक रोगी महिलाहरूमध्ये कसैले नमस्कार त कसैले साष्टाङ्ग गरे । उनलाई बडो अचम्म लाग्यो, उनले पहिलोपटक देखेकी थिइन्, यतिका सङ्ख्यामा सर्वाङ्ग नाङ्गा महिलाहरू । उनी त्यहाँ पुग्दा ७७ जना कैदी बन्दी महिलाहरूमध्ये ३९ जना ज्यान मुद्दामा परेका थिए । २२ जना मानसिक सन्तुलन गुमाएकाहरू, १२ जना गर्भपतन (ज्यानसजायँ) अभियोग लागेका, दुई जना मानव बेचबिखन, एक जना चोरी र एक जना राजकाज मुद्दा खेपिरहेका महिलाहरूको साथी बन्न पुगेकी थिइन् उनी, पासपोर्ट दुरूपयोगको अभियोगमा ।
उनले त्यहाँ इलाम माइमझुवाकी २८ वर्षिया नरमाया गुरुङलाई भेटिन् । २० वर्षको कैद सजायँ तोकिएको उनले १६ वर्ष बन्दी जीवन बिताइसकेकी थिइन् । जेल पर्दा उनी १२ वर्षकी थिइन, अभियोग थियो– जेठी भाउजू मारेको । दुर्गाकै लेखाइअनुसार उनले न भाउजू मारेकी थिइन्, न लास नै देखेकी थिइन् । उनलाई केही थाह थिएन । त्यहाँ १२ वर्षकी सानी भएकीले दुई चार दिनमै छाडिहाल्छ नि भन्दै ल्याप्चे लगाउन लगाइयो । जता भन्यो, त्यतै ल्याप्चे लगाइदिएको परिणामस्वरूप एक निर्दोष बालिका जेल चलान भएकी थिइन् ।
उनले नुवाकोटकी नन्दमाया गुरुङ, बुद्धमाया गुरुङ, वीरगञ्जकी शान्ति लगायतका कथाव्यथाहरू पनि आफ्नो लेखमा उल्लेख गरेकी छन् । कतिसम्म भने १४/१५ वर्षकी बुद्धमाया गुरुङ त्यहाँ सासु मारेको अभियोगमा २० वर्ष ज्यान सजायँ भोग्न आएकी थिइन् । उनलाई यस्तो बेला सासु मारेको अभियोग लाग्यो, जुन बेला उनी माइत गएकी थिइन् । दुर्गाले भेट्दा बुद्धमायाको रजश्वला पनि भएको थिएन ।
त्यहाँ राजबन्दीका रूपमा रहँदा गम्भीर बिरामी अवस्थामा रहेकी झापाली कम्युनिस्ट नेतृ गौरा प्रसाईंको व्यथा पनि उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, “त्यहाँ दुई तीन जना महिलाहरू हामी पागल होइनौँ, हामी खुला ठाउँमा बस्न चाहन्छौँ, हामीलाई छाडिदिनू भन्दै रुन्थे, कराउँथे ।”
बिना पासपोर्ट अमेरिका
हङकङमा मानव अधिकारसम्बन्धी कार्यक्रमबाट फर्कनासाथ उनलाई पक्राउ गरिएको उल्लेख भइसकेको छ । उनले त्यहाँको ‘साउथ चाइना मर्निङ पोस्ट’ अखबारमा “हामी नेपालको प्रणाली बदल्न चाहन्छौँ” भन्ने अन्तर्वार्ता दिएकी थिइन् । खासमा उनको अपराध यहीँ थियो । त्यसबेला उनलाई दिइएको थुनुवा पूर्जी अहिले पनि उनीसँग सुरक्षित छ । वि.सं. २०३५ जेठ २५ गते प्रहरी निरीक्षक आनन्दराजा अमात्यले उनलाई थमाएको थुनुवा पूर्जीमा “तपाईँलाई राहदानी ऐन २०२४ अन्तर्गतको कसुर अपराधको अनुसन्धान सिलसिलामा “क” श्रेणीको सिधा खान पाउने गरी थुनुवा पूर्जी दिइएको छ ।”
यसपछि उनलाई ६ महिना केन्द्रीय कारागारमा थुनिएको उल्लेख भइसकेको छ ।
त्यतिखेर सह अञ्चलाधीशका रूपमा तेजप्रसाद उपाध्याय सरकारी अधिकारी थिए । उनी पोखरेल बन्धु परेकाले त्यही बन्धुत्त्वका नाताले पासपोर्ट कडाइ भएको समयमा सहानुभूतिपूर्वक उपाध्यायले पासपोर्ट दिएका थिए । तर दुर्गाकै कारण उपाध्याय पनि लामो समय जागिरबाट निलम्बनमा परे । राजालाई बिन्ती गरी अनेक हन्डर खाएर उनको जागिर थमौती भएको थियो ।
संयोगले दुर्गाको चिनजान अमेरिकी नागरिक डा. अरल थम्प्सन र ब्रेव थम्प्सनसँग भएको थियो । उनीहरू पर्यटकका रूपमा नेपाल आउँदा दुर्गाको उनीहरूसँग परिचय साटासाट भएको थियो । त्यसबेला दुर्गा पर्यटक पथप्रदर्शन पनि गर्थिन्, बेला बेलामा ।
जेलबाट भर्खरै छुटेको, आफ्ना आदर्श नेता वीपी कोइराला र आफ्नै बुबाको पनि भर्खरै देहान्त भएको पीडाहरू त छँदै थिए, अझ कतिखेर राज्यबाट आफू मारिने हो टुङ्गो थिएन ।
जगजगी भएर बाँच्नु परिरहेको बेला डा. अरल थम्प्सनले उनलाई अमेरिकी भ्रमणको लागि निम्तो पठाए । उनी भने पासपोर्टबिहीन थिइन्, राज्यले पासपोर्ट खोसेको थियो । फेरि पासपोर्ट बन्ने सम्भावना थिएन तर दुर्गालाई नेपाल बस्न भने दिनदिनै असहज भइरहेको थियो ।
उनीमाथि भइरहेको राज्यको राजनीतिक पूर्वाग्रह, ज्यादती र उनको प्रजातन्त्रप्रतिको निष्ठालाई अमेरिकी दुतावासले मसिनो ढङ्गले नियालिरहेको थियो, सायद । दुतावासको सहयोगमा बिना पासपोर्ट उनको अमेरिका भ्रमण सम्भव भयो । उनी पर्यटक भएर अमेरिका पुगिन् ।
उनी अमेरिका पुग्नासाथ सबैभन्दा पहिले हार्वड विश्वविद्यालयको खोजी गरिन् । नेपालका तत्कालीन राजा वीरेन्द्रले जुन विश्वविद्यालयमा अध्ययन गरेका थिए, त्यहीँ पढ्ने इख थियो उनको । पहिले जनप्रशासनमा स्नातकोत्तर तहको पढाइसकेर हार्वडबाटै उनले “प्रशासनिक योजना तथा सामाजिक नीति” विषयमा विद्यावारिधि उपाधि लिइन् ।
विष नभएको सर्प र इख नभएको मान्छेको के काम ?
त्यहीँ उनले बेलायती नागरिक डा.एन्थनी विलेटसँग विवाह गरिन् । कट्टर हिन्दु परिवारमा जन्मेकी उनले बेलायती नागरिकसँग विवाह गर्ने निर्णय गर्नु पनि एक प्रकारको विद्रोह नै थियो । फेरि उनले अर्को समन्वय पनि कायम गरेकी थिइन्, त्यो थियो नेपाली परम्पराअनुसारको विवाह समारोह ।
000
www.asmitamagazine.com बाट साभार
![]() |
आफ्नो बुबाको काजक्रियामा कपाल खौरेको अवस्थामा |
![]() |
दुर्गाले पाएको थुनुवा पूर्जी |
![]() |
डा. एन्थनी विलेटसँग नेपाली परम्पराअनुसार विवाह |