Wednesday, January 31, 2024

जालपादेवी र जतनपुरे पोखरेलहरुको सम्बन्ध - मणिकुमार पोखरेल

मणिकुमार पोखरेल 


जालपादेवी सिंहहरुले पुज्ने देवी हुन् । जालपादेवीका धामी भडारी हुन्। पोखरेलहरु सिंह राजाहरुका गुरु/पुरोहित  भएकाले उनीहरुले पनि राजासँगै जालपादेवीको पूजा गर्न थाले हुनन्। जालपा मन्दिरमा भन्दा ओढार वा भित्ता वा रुख मुनि बस्न रुचाउने देवी हुन्। (धामीसँग भेट्न खोज्दा निज कामको लागि भारततिर गएको कारण भेट हुनसकेको थिएन)

जालपा देवीका सन्दर्भमा सुनेका केही किंवदन्तीहरू

१) कुनै समयमा सिंह वा सेन वंशका प्रतापी राजा थिए। उनी धर्मात्मा पनि थिए। एक पटक उनको राज्यमा लामो समयसम्म खडेरी परेछ। यसबाट  चिन्तित राजाले सपनामा आफू  भ्रमणमा निस्केको बेलामा बाटोमा पर्ने एउटा धाप नजिकैको ओढार छेउमा एउटी बालिकालाई उभिइरहेको देखेछन्। आश्चर्य मानेर उनले ती बालिकालाई हेरिरहेछन्। राजाले त्यसरी हेरेको देखेर बालिका मुस्कुराइछन्। उनको मुस्कानमा लट्ठीएका राजाले उनको परिचय मागेछन्। बालिकाले आफू जालपा अथवा जलकी देवी भएको र लोक कल्याणको लागि राजालाई दर्शन दिन बालिकाको रुपमा आएको ् कुरा बताउँदै नियमितरूपमा आफ्नो पूजा गर्न र वर्षको एक पटक वली दिन माग गर्दै यसो गरेमा आफूले पानी दिने र पानीको अभावमा लोकले दुःख नपाउने कुरा बताइछन् । राजाले हुन्छ भन्नासाथ उनी ब्युझेछन्। संयोगले त्यो दिन वैशाखे पूर्णिमाको दिन रहेछ। विहान सखारै सपनामा देखेको ठाउँ हेर्न जाँदा देवीको ढुंगे मूर्ति देखेपछि राजाले आफ्ना गुरु खलकलाई पुजारीमा नियुक्त गरि पूजा गर्न लगाएछन्। उनै देवी तात्कालिक पुजारीका भान्जा (भडारेको काम गर्ने) भडारेको आँगमा उत्रिएकाले उनले धामीको रुपमा काम गर्थ थालेछन्। कालान्तरमा सिंह वा सेनहरु जताजता गए उतैउतै जालपादेवी पनि विस्तारित हुँदै गइन्।

अनुमान गर्न सकिने आधार

क- केही वर्ष अगाडि हुम्ला जिल्लामा रहेकी जालपा देवीको मूर्ति हराएको(सायद बाह्रौं शताब्दीतिरको) समाचार सुनिएको थियो (समय एकीन भएन), हुम्ला बाहेक तात्कालिक खस राज्यको प्रभुत्व भएका विभिन्न ठाउँहरुमा जालपादेवीको स्थान र मन्दिरहरु भेटिनुले जालपादेवीको पूजा खस राजाहरुकै पालादेखि हुँदै आएको र उनीहरुको राज्य विस्तारसँगै जालपादेवीको  पनि विस्तार भएको हो भन्ने अनुमान गर्न सकिन्छ । 

ख-  प्राज्ञ भाषाशास्त्री बालकृष्ण पोखरेलको जतनपुरे पोखरेलहरुको वंशावलीको आधार लिंदा

- हामी  पोखरेलहरू आत्रेयगोत्री हौँ  । आत्रेय गोत्र आपोमूर्ति आत्रेयका सन्तान हुन्। अत्रीहरू चाहिँ उनका शिष्य खलक हुन्।(अमरकोष अनुसार अपको अर्थ पानी हुन्छ)। यसको मतलव हो अपोमूर्ति पानीप्रिय(पानीयल)थिए अथवा उनी पानीको महत्वका बारेमा बढी जानकार थिए । उनी पानीप्रिय हुनु र जालपालाई पानीकी देवी मानिनुमा पानीयल र जालपादेवीका बिचको तादात्म्यता झल्कन्छ। 

-यसै गरी  कन्नौडबाट वि.सं.९५० तिर  जुम्ला राज्यमा आएका हाम्रा पूर्वज काशीदाशले कैलाश पर्वत र मानसरोवरको दर्शन गर्नु, उनमा भएको शास्त्रीय ज्ञान र तान्त्रिक शक्तिबाट प्रभावित भै उनलाई  तात्कालिक जुम्लाका शासकहरूले आफ्नी छोरी दिएर ठाकुरजी लेक(महाबु लेक)देखि दक्षिणतिरको केही भूभाग दिएर राख्नु, त्यसपछि पोखरेलहरुको इतिहास दैलेखको रिजु पोखरासँग जोडिनु, उनी र उनका सन्तानहरूले केही बाइसी/चौबिसी राज्यमा शासन गरेको प्रसंग जोडिनु र लमजुङे र सेन शासकहरूसँगको सामिप्यता देखिनु जस्ता ऐतिहासिक प्रसङ्गहरु पनि केही हदसम्म पुष्टि गर्ने आधार बन्न सक्लान्।

- कालान्तरमा आएर काशीदासबाट पोखरीमा पानी भर्ने र दुध भर्नेको किंवदन्ती जोडिएको भए पनि पानियल नै पानी पोखरेल कहलिएका हुन् भन्न सकिने मुल आधार देखिन्छ। यसैगरी पानियलहरूले जलकी देवी मानेर पुजिएकी जालपादेवीको स्थान पोखरेलहरूको बसाइ सराइ र प्रभाव क्षेत्रको बिस्तारसँगै बिस्तार हुँदै गएको हो कि भन्ने अनुमान पनि लगाउन सकिन्छ ।

-नेपाल एकीकरण अभियानसँगै जतनपुरे पोखरेलहरुको सम्बन्ध साइनो सेन राजाहरुसँग गाँसिनु र हालको धनकुटा जिल्लाको छिन्ताङमा रहेकी जालपादेवीको प्रसङ्गमा सुनिने किंवदन्तीले पनि हामीलाई जतनपुरे पोखरेलहरुले जालपादेवीको पूजा गर्नुको कारण बारेमा सोच्न वाध्य बनाउँछ। -किंवदन्तीले भन्छ- छिन्ताङमा रहेकी जालपादेवी मन्दिरका हालका पुजारीका पूर्वज वुरुलेन नाकछोङलाई सपनामा आएर देवीले संखुवासभाको हुम्बुङ (आँखीभुइँ)गाउँमा गएर माटो ल्याउन आदेश दिइन्। उनले देवीको आदेश पालन गर्दै मानेको पातमा माटो पोको पारी ल्याएर एउटा सानो रूखको फेदमा घुसारी राखे। केही समयपछि उनले त्यस ठाउँमा पानी उम्रिएको देखे । पानी देखेपछि उनले देवी प्रकट भएको ठानी मन्दिर बनाएर नित्य  पूजाको थालनी गरे । पानीको रूपमा देवी प्रकट भएकीले तिनको नाम जालपा रहन गयो । हाल तिनै देवीलाई छिन्ताङदेवी पनि भनिन्छ।

       यसरी कतै नदीको छेउमा त कतै कुवाको छेउमा मन्दिर बनाइनु र खडेरी परेको बेला जालपादेवीको प्रार्थना गरिनु(बाल्यकालमा हजुबा भगवतप्रसाद पोखरेलको सक्रियतामा गरेको प्रार्थनाको स्मृति )ले पनि उनको पुजा पानीदेवीकै रूपमा पुजिएको हो भन्न सकिन्छ। 

-सायद लखनडाँडा, थामखर्क(थानखर्क?) जतनपुर,रूपाटार, आदमारा,चारङ, ओख्ले, थाक्ले आदि ठाउँमा पोखरेलहरूको बसाइसँगै यही विश्वास र आस्थाको आधारमा जालपादेवीलाई मान्यता प्रदान गरी वर्षको एकपटक बली दिने ( वैशाखे /चण्डी पूर्णिमाका दिन) चलन चलाइयो होला।

 जालपा र  पोखरेलहरुको कूल देवताका बारेमा थप प्र

-२०८० असार १४ गतेका दिन म दुधौलीको बटाहामा थिएँ। त्यस दिन त्यही ठाउँमा बस्नुहुने एक जना दाजुसँग भेट भयो । उहाँले आफू पोखरेलको राम्चेली हाँगो अन्तर पर्ने र आफ्नो नाम लक्ष्मीप्रसाद पोखरेल भएको कुरा बताउनु भयो । उहाँ  त्यसदिन मेरो माइजुलाई झारफुक गर्न भनेर आउनु भएको रहेछ।

एक त जतनपुरे पोखरेल, त्यसमा पनि धामी भनेपछि मैले केही जिज्ञाशा पोख्ने अनुमति मागें। उहाँको अनुमति लिएर मैले राखेको जिज्ञाशामा उहाँले यस्तो जवाफ दिनुभयो ।

- जालपा पोखरेलहरुकी देवी इष्टदेवी होइनन् । यिनी अन्य शक्ति-देवीका रुपमा पुजिएकी होला ।

जालपादेवी इष्टदेवी होइनन् । यिनी अन्य शक्ति-देवीका रुपमा पुजिएकी होलिन् तर मैले भने आजसम्म जालपादेवीको पूजा गरेको छैन।

-हामीले मान्ने कुल देवता कालामष्ट  हुन् भने विन्ध्यवासिनी इष्टदेवी  हुन् ।

- मष्टालाई बैशाख पूर्णीमा वा मंसिरे पूर्णिमामा बोका बली दिने गरिन्छ। 

-मैले २०३८ देखि धामी काम गर्दै आएको छु।  आफूमा  उत्रदा पोखरेलका तात्कालिक धामी वास्तविक नाम थाहा नभएका (बोलीचालीमा ठोकने)भन्ने पूर्जले  अपहेलना गरी सुनकोसीमा फालिदिएकाले मष्ट आफूमा आएको र सो अवधिदेखि आफूले नियमित रूपमा कुलपूजा र बलिदिने काम गरि आएको ।

- हाम्री इष्टदेवी विन्ध्यवासिनीको मूर्तिमा रगत पार्नु हुँदैन। 

-भान्जा रुमालसिद्ध क्षेत्रपाल। हुन्। 

-गोठपूजा फरक कुरा हो। गोठपूजा सबै जातजातिले गर्दछन्। उक्त दिन गोठ पूजासँगै कतिपयले बलि दिने गर्दछन् । यस्तो काम गलत हो। गोठ पूजामा गाई र गाईसँग सम्बन्धित कुराहरुको पूजा गरिन्छ। प्रसादको रुपमा खीर खाने गरिन्छ।

000

No comments:

Post a Comment