कृष्णदासको भन्दा विष्णुदासको हाँगो छोटो
क. काशीदासदेखि २० औँ पुस्ताका दुर्गादासका दुई छोरा मध्ये जेठा कृष्णदासको वंशलता कान्छा विष्णुदासको भन्दा ११ पुस्ता लामो छ। जेठो हाँगो भएकाले यो स्वाभाविक पनि हो।
ख. बालकृष्ण पोखरेल (२०४७) ले काशीदास भन्दा १३ पुस्ता माथिबाट थालेर जतनपुरे पोखरेलहरुको वंशलता ५० पुस्ता जति पुर्याएका छन्। यस हिसाबले काशीदासबाट जतनपुरेहरुको हाँगो ३७ पुस्ता मात्र पुग्ने (अर्थात्, खार्पालीको भन्दा छोटो) देखिन्छ।
ग. कृष्णचन्द्र पोखरेलको वंशावली अनुसार धन्कुटे पोखरेलको (अर्थात्, धन्कुटे, सिम्पाने र सावालीको) हाँगो काशीदासबाटै झन्डै ५५ पुस्ता निस्किन्छ। जतनपुरे पोखरेल दाजु (रामेश्वर) का सन्तान हुन्, सिम्पाने, धन्कुटे र सावाली पोखरेल भाइ (सदानन्द) का सन्तान हुन्। प्राय जेठो हाँगो लामो हुनु पर्ने हुनाले धन्कुटेको हाँगो भन्दा जतनपुरेको हाँगो नै लामो हुनु पर्ने हो। यसरी बालकृष्ण पोखरेलको वंशावलीमा जतनपुरेको वंशलता कम्तीमा ६ पुस्ता छोटो देखिन्छ, किन भने कृष्णचन्द्र पोखरेल (२०१४, २०४२) को वंशावली अनुसार रामेश्वर र सदानन्द नै काशीदासबाट ४३ पुस्तामा पर्ने देखिन्छन्।
घ. काशीदासबाट २० औँ पुस्ताका जेठा कृष्णदासको वंशलता कान्छा विष्णुदासको भन्दा ११ पुस्ता लामो छ। हुन त झन्डै हजार वर्षमा जेठो पुस्ता लामो हुनु स्वाभाविक भए पनि, त्यो बराबर हुनु पर्ने भन्ने तिन जना अनुसन्धाता (बालकृष्ण पोखरेल, गणेश पोखरेल, फणीराज पोखरेल) लाई लाग्यो। बालकृष्ण पोखरेलले कृष्णदासको हाँगो लामो भएको दाजुभाइलाई बाबुछोरा बनाएर होला भन्ने लागेर उनले कुनै कुनै बाबुछोरा र दोहोरिएका नाउँ हटाएर वंशलता झन्डै बराबर बनाए। बालकृष्णकै प्रेरणा लिएर फणीराज पोखरेलले पनि कृष्णदासको वंशलता घटाउने प्रयास गरेका छन्। बालकृष्ण र फणीराजले कृष्णदासको वंशलता घटाएर बराबर बनाउन खोजेका छन् भने, गणेश पोखरेलले चाहिँ विष्णुदासको वंशलतामा पुस्ता बढाएर वंशलता बराबर बनाउन खोजेका छन्। दुवै किसिमका अनुसन्धानहरु टुङ्गामा पुग्न काम लाग्लान्!
ङ. गणेश पोखरेल के भन्दछन् भने, जनकलाल पोखरेलको सूचना अनुसार विष्णुदासका हाँगामा हरिदत्त (२४) र गजाधर (२५) का बिचमा आठ पुस्ता हराएकाले विष्णुदासको हाँगो छोटो भएको हो। जनकलालको स्रोत अनुसार पाइएका ८ पुस्ताका नाम उनले यस्ता दिएका छन् : (२५क) श्यामलाल र (२५ख) इन्दीवर, (२६) श्रीनन्द (सिस्नेरी र चोभार), (२७) रामानन्द, (२८क) गङ्गादास र (२८ख) इन्दीप, (२९) जयनन्द, (३०) जगतानन्द, (३१) दुर्गादास, (३२) जगन्नाथ र (३३) गजाधर
च. लम्जुङमै गएर यस कुरामा थप खोजी गरी मसिनोसँग केलाउनु पर्ने आवश्यकता देखिन्छ।
छ. गोर्खा र लम्जुङमा स्थलगत सर्वेक्षण गरेर मात्र यस समस्याको समाधान होला!
वंशावलीमा छुटेका अनेक पोखरेल बस्ती
कृष्णचन्द्रकै वंशावलीले पनि दोलखा, ललितपुर, सुन्दरीजल, चाबेल, धादिङ, तनहुँ, रामेछाप, सिन्धुली, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, प्युठान, दाङ, सुर्खेत र दैलेखका पोखरेलका हाँगाहरु जोडेको छैन।
दोलखाली हाँगो : कल्याणनाथ (गोर्खा) बाट कि पन्थु (लम्जुङ) बाट?
क. कृष्णचन्द्रको वंशावलीबाट धेरै समय सम्म पूर्वी नेपालका मार्गा र अर्खौले (धन्कुटा), सङ्खुवासभा, तेरथुम, भोजपुर, ताप्लेजुङ, पाँचथर, इलाम र प्रवासका दार्जिलिङ, सिक्किम, भुटान र असमका पोखरेलहरुको हाँगो प्रस्ट भएको थिएन। त्यहाँ काशीदासबाट कृष्णदास पट्टि ३७ औँ पुस्तामा परम र पन्थु देखिन्छन्, तर पन्थुको हाँगो हराउँछ।
ख. वंश प्रतिष्ठान र विष्णुभक्तमा विवाद
अ) विष्णुभक्त पोखरेलको वंशावली आधारभूत रूपमा पन्थुका खलककै वंशावली हो। त्यस अनुसार यहाँ उल्लेख गरिएका सबै ठाउँका पुर्बेली पोखरेल पन्थुका सन्तान देखिन्छन्, तर विष्णुभक्त पोखरेलको वंशावली प्रकाशित हुनु भन्दा अगाडि प्रकाशित भएका जफे र मालुका दोलखाली पोखरेल र त्यही मूलबाट विकसित भएका पोखरेल (खडानन्द पोखरेल, २०७३) का हाँगाहरुले आफ्नो वंशलता छोप्राक (गोर्खा) का पोखरेल (काशीनाथ) सँग जोडेका छन्, तर विष्णुभक्तको अनुसन्धान अनुसार चाहिँ दोलखाली पोखरेलहरु त गोर्खाको छोप्राकबाट छुटेका विष्णुदासका सन्तान नभएर कृष्णदासका सन्तान पन्थुका खलक देखिएका छन्। यसरी विष्णुभक्तको दाबी र अरु उनकै नजिकका भाइभैयातले बनाएको वंशावलीमा बाझो परेको देखिन्छ।
आ) विष्णुभक्त र अरु दोलखालीका वंशावली लेख्नेहरुमा के फरक छ भने, विष्णुभक्तले दोलखाली पोखरेललाई पन्थुका सन्तान मानेका छन् भने, अरुले चाहिँ छोप्राकका कल्याणनाथका साइँला छोरा काशीनाथसँग आफ्नो वंशलता जोडेका छन्। यसमा विष्णुभक्तकै टिपोटमा पनि एउटा पातामा ‘राजधर’ को हाँगो छोप्राकका कल्याणनाथसँग जोडिएको छ भने, अर्को टिपोटमा पन्थुका छोरा भनेर टिपिएको पाइन्छ। यो समस्या पनि टुङ्गो लगाउनु पर्ने छ। विष्णुभक्तकै टिपोट अनुसार छोप्राकका कल्याणनाथका माइला भाइ राजधरका जेठा छोरा धर्मदासका छोरा ओरस्टे (स्याङ्जा) का पोखरेल र कान्छा तुलसीदासका केही सन्तान करापु (लम्जुङ) मा भएको सूचना पाइन्छ।
इ) लम्जुङ र गोर्खामा स्थलगत सर्वेक्षण गरेर मात्र यस समस्याको समाधान होला!
छोप्राक (गोर्खा) को हाँगो धेरै तिर फैलेको
क. विष्णुभक्तको टिपोट अनुसार काशीदासबाट विष्णुदासका हाँगामा २५ औँ पुस्ताका गजाधरका हेमन्त र कृष्णनाथ गरी दुइटा छोरा देखिन्छन्।
ख. जेठा हेमन्तका कल्याणनाथ, राजधर र यज्ञनिधि गरी तिन ओटा छोरा पाइन्छन्।
ग. कान्छा यज्ञनिधिको हाँगो बारे केही पनि भन्न सकिँदैन।
घ. जेठा कल्याणनाथका पाँच ओटा छोरा देखिन्छन् :
अ) खार्पाली र माम्खाली : जेठा हरिकृष्ण खार्पाली र माम्खालीका पुर्खा हुन्,
आ) छोप्राक र भक्तपुर : माइला बलभद्रका सन्तान भक्तपुरे र गोर्खाली (छोप्राके) छन्। गुरुप्रसाद पोखरेलसँगको सल्लाहमा ओरस्टेली (स्याङ्जा) पनि यसै हाँगामा जोडिने देखिएका छन्। विष्णुभक्तले पनि ओरस्टेलाई बलभद्रसँगै जोडेका छन्।
इ) पहाडी र पहारी: साइँला काशीनाथका सन्तान सिन्धुली र डोल्पाका पहाडी अनि पोखरा बैदाम र तनहुँ बर्लाँचीका पहारी पाइन्छन्,
ई) दमौली (तनहुँ): काइँला तुलारामका सन्तान दमौलीका पोखरेल देखिन्छन् भने, कान्छा श्रीधरको हाँगो हराएको छ।
खुटाली हाँगो
खोटाङकै खुटाली पोखरेल पनि कृष्णचन्द्रको वंशावलीमा जोडिएका छैनन्। ‘पोखरेल दर्पण’ को यस अङ्कमा बाबुराम पोखरेलको लेखले खुटाली पोखरेलहरु कृष्णचन्द्रको वंशावलीमा काशीदासबाट गन्दा २७ औँ पुस्ताका ब्रह्मपाध्य (बाबुरामजीका लेखमा काशीदासलाई १४ औँ पुस्ताका मानेर ३९ औँ पुस्तामा राखिएका ‘ब्रह्मानन्द’) का छोरा ‘बालुपाध्य’ का सन्तान देखिन्छन्। म चाहिँ ब्रह्मपाध्यलाई काशीदासबाट २७ औँ पुस्तामा गन्दा ५२ औँ पुस्तामा पर्छु। कृष्णचन्द्रका वंशावलीमा भएका ब्रह्मपाध्यका छोरा देवदत्तको सन्तान म चाहिँ हुँ। यस हिसाबले खुटाली पोखरेलका पुर्खा बालुपाध्य देवदत्तका दाजु अथवा भाइ हुनु पर्छ। बाबुराम पोखरेलका निम्न लिखित कुरा अरु वंशावलीमा नमिल्ने देखिन्छन् :
क. ‘कृष्णानन्दका छोरा शङ्करानन्दबाट खुटालीको वंशविस्तार भयो।’ कृष्णचन्द्रको वंशावली अनुसार दुर्गादासका जेठा छोराको नाम ‘कृष्णानन्द’ नभएर ‘कृष्णदास’ हो। ‘कृष्णानन्द’ नाम भएका व्यक्ति त ‘कृष्णदास’ बाट झन्डै १५ पुस्ता र ब्रह्मपाध्याबाट ७ पुस्ता तल पर्छन्।
ख. ‘कृष्णानन्दका अर्का छोरा रमानन्दबाट जतनपुर, सिम्पानी र सालुकका पोखरेल’ विस्तार भएको भन्ने बाबुरामजीको भनाइ भिडाउँदा पनि कृष्णचन्द्रको वंशावली अनुसार काशीदासबाट ३४ औँ पुस्तामा भएका ‘कृष्णानन्द’ का एक मात्र छोराको नाम ‘रामानन्द’ देखिन्छ।
ग. ‘खुटालीका संस्थापक ‘बालैपाध्य’ र जतनपुरका रामेश्वर दाजुभाइ देखिन्छन्’ : कृष्णचन्द्रको वंशावली अनुसार काशीदासको ४३ औँ पुस्तामा रामेश्वर देखिन्छन्। रामेश्वरका भाइको नाम ‘सदानन्द’ छ, जो धन्कुटे, सिम्पाने र सावाली पोखरेलका पुर्खा हुन्।
सालुक र गैराथोक (रामेछाप):
विष्णुभक्तको टिपोट अनुसार रामेछापका सालुक र गैराथोकका पोखरेलहरु पन्थुका हाँगामा काशीदासबाट ४३ औँ पुस्तामा पर्ने विमलानन्दका सन्तान हुन्।
सिस्नेरी, लुभु (ललितपुर) र सुन्दरीजलका पोखरेल :
सैगुणका दाजु मभी (महेश्वर) का सन्तान भनेर सिस्नेरी, लुभु (ललितपुर) र काठमाडौँ सुन्दरीजलका पोखरेलहरु आफुलाई चिनाउँछन्।
धादिङ :
विष्णुभक्त पोखरेलका टिपोटमा धादिङका पोखरेलहरु दुई किसिमका छन्। एउटा खलक छोप्राक (गोर्खा) मा गजाधरसँग जोडिन्छ। टिपोटमा काशीदासदेखि विष्णुदासका हाँगामा २५ औँ पुस्ताका गजाधरका ४ भाइ छोरा भेटिएका छन् : हेमन्त, हरिलाल, पद्मलाल र छत्रलाल। हेमन्तका छोरा कल्याणनाथका खलकको चर्चा भई सक्यो। धादिङका पोखरेलहरु हेमन्तका साइँला भाइ पद्मलालका सन्तान देखिन्छन्।
लम्जुङ :
लम्जुङका पोखरेलहरु विष्णुभक्त पोखरेलको टिपोट अनुसार केही (३७) परम (करापु) का, केही (३७) पन्थु (राघिनास) का र केही (२५) गजाधर (गोर्खा, छोप्राक) का सन्तान देखिन्छन्।
क. विष्णुहरि घिमिरेको ‘ईशानेश्वर वंशावली’ अनुसार कृष्णचन्द्र पोखरेलको वंशावलीमा काशीदासबाट ३२ औँ पुस्ताका लम्जुङ सिमलचहुरका बिलभद्र (वीरभद्र?) का सन्तान देखिन्छन्। सिमलचहुरका बिलभद्रका जेठा छोरा (३३) बलभद्र पूर्व तिर चिसङ्खु, करापुमा र कान्छा छोरा दिलभद्रका सन्तान पश्चिम तिर लम्जुङकै अर्चले, गल्लीसाँघु र दाङसिम्राङ तिर बसोबास गरेको सूचना पाइन्छ।
ख. लम्जुङको ‘ईशानेश्वर वंशावली’ मा चाहिँ बिलभद्रका छोरा दिलभद्र देखिन्छन्, तर कृष्णचन्द्रको वंशावलीमा चाहिँ भिडाउँदा दिलभद्रका छोरा बिलभद्र देखिन्छन्।
ग. अर्कातिर कृष्णचन्द्रको वंशावली अनुसार काशीदासको ३३-३६ औँ पुस्तामा कृष्णदासका हाँगामा क्रमश: ‘रामभद्र’, ‘कृष्णानन्द’, ‘रामानन्द’ र ‘जगतानन्द’ का नाउँ आउँछन्, तर लम्जुङको ‘ईशानेश्वर वंशावली’ अनुसार सिमलचहुरका बिलभद्रका जेठा छोरा बलभद्रका छोराको नाउँ ‘रामभद्र’ देखिन्छ भने, बिलभद्रका कान्छा छोरा दिलभद्रका जेठा छोराको नाउँ कृष्णानन्द र कान्छा छोराको नाउँ ‘रामानन्द’ देखिन्छ। अर्थात्, कृष्णचन्द्रको वंशावली अनुसारका (बाबु, छोरा, नाति) तिन पुस्ता ईशानेश्वर वंशावली अनुसार एउटै पुस्ताका दाजुभाइ देखिन्छन्। यस तथ्यले बालकृष्ण, फणीराज र गणेश पोखरेलले पुस्ता संशोधन आवश्यक देखेको कुरामा सत्यता देखिन्छ।
घ. लम्जुङको त्यस वंशावलीमा बिलभद्रका सन्तानको झ्याम्टो नै देखिन्छ। त्यहाँ गल्ती हुने सम्भावना एकदम कम छ। अब हाम्रो काम चाहिँ लम्जुङको वंशावली केलाएर कृष्णचन्द्रको वंशावलीमा सके सम्म संशोधन गर्ने ठाउँ खोज्नु पर्ने देखिएको छ।
ङ. लम्जुङको वंशावली (ईशानेश्वर वंशावली) अनुसार हरिदत्तका बाबु ब्रह्मपाध्यको नाम ब्रह्मदत्त हो। ब्रह्मदत्तका सन्तान डडुवाबाट करापु (लम्जुङको कर्फुटार) आए। हरिदत्तको ठेगाना पनि त्यस वंशावलीमा करापु नै लेखिएको छ।
लम्जुङ र गोर्खा साख्य दाजुभाइ?
लम्जुङका घिमिरेहरुको वंशावली (ईशानेश्वर वंशावली) अनुसार ब्रह्मदत्तका दुइटा छोरा (हरिदत्त र गजाधर) देखिन्छन्। त्यस वंशावलीले के समस्या अगाडि ल्याएको छ भने, दाजु हरिदत्तका सन्तान चाहिँ लम्जुङको करापु बिर्ता पाएर बसे भने भाइ गजाधर चाहिँ गोर्खाको छोप्राक बिर्ता पाएर बसे। यस सूचनाले कृष्णचन्द्रको वंशावली अनुसार काशीदासबाट विष्णुदासका हाँगामा २५ औँ पुस्तामा पर्ने गजाधरलाई कृष्णदासका हाँगामा २८ औँ पुस्तामा पर्ने हरिदत्तका भाइ बनाएको छ। विचार गर्नु पर्ने कुरो के पनि छ भने, विष्णुदासका हाँगाका गजाधरका बाबुको नाम पनि (२४ औँ पुस्तामा) हरिदत्त नै छ।
मट्टिखान, पोखरेलथोक (कास्की) र ओरस्टे (स्याङ्जा):
पोखराका मट्टिखान र पोखरेलथोक अनि स्याङ्जाको ओरस्टेका पोखरेल नजिकैका हुन् भन्ने गुरुप्रसाद पोखरेल र डा० रामचन्द्र पोखरेलको भनाइ छ। गुरुप्रसाद पोखरेलको टिपोटका आधारमा यो हाँगो छोप्राक (गोर्खा) कै कल्याणनाथका माइला छोरा बलभद्रसँग जोडिने देखिएको छ, तर विष्णुभक्त पोखरेलका टिपोटमा यो हाँगो पन्थुका छोरा ब्रह्मदत्त/ब्रह्मदेवसँग जोडिने पाइएको छ। यसमा पनि खोजी पक्का गर्नु पर्ने देखिएको छ।
अत्रि गोत्री पानी पोखरेल :
क. बैदामका पहारी, सिन्धुली र डोल्पाका पहाडी :
पोखरा बैदामका पहारीहरु पहिले आफुलाई अत्रि गोत्री भनेरै चिनाउँथे, तर प्रेमराज पहारी लगायत पहारीहरुको अनुसन्धान टोलीले सुर्खेतको सिम्ता र दैलेखको डुङ्गेश्वर सम्म पुगेर आफु आत्रेय गोत्री पानी पोखरेल नै भएको निष्कर्ष निकाल्यो। सिन्धुलीका पहाडी चाहिँ आफुलाई आत्रेय गोत्री पानी पोखरेल भनेरै चिनाउँछन् भन्ने डोल्पाका पहाडीहरु पनि आफुलाई ‘आतस्से’ (आत्रेय) गोत्री भनेरै चिनाउँछन्। ‘पोखरेल दर्पण’ को यसै अङ्कमा प्रेमराज पहारीले गोर्खाका कल्याणनाथका छोरा काशीनाथको कुन पुस्तामा आफ्नो वंशलता जोड्ने भन्ने पक्षमा देखा परेका समस्याहरुको चर्चा गरेका छन्।
ख. पोखरेलथोकका पानी पोखरेल
अर्कातिर पोखराकै पोखरेलथोकका पानी पोखरेलहरु आफुलाई अत्रि गोत्रका भनेर चिनाउँछन्। मैले धेरै पल्ट मागे पनि उनीहरुको पुस्तैनी अहिले सम्म पाउन सकेको छैन। पुस्तैनी हेर्न पाए, समस्याको छिनोफानो हुन्थ्यो होला जस्तो लाग्छ।
आत्रेय गोत्री दुध पोखरेल र भारद्वाज गोत्री पानी पोखरेल
अर्घाखाँची, कपिलवस्तु, प्युठान र सम्भवत: गुल्मीमा पनि भारद्वाज गोत्री दुध पोखरेल र भारद्वाज गोत्री पानी पोखरेल पाइन्छन्। बालकृष्ण पोखरेल आफुले भारद्वाज गोत्री पानी पोखरेल पनि आत्रेय गोत्री दुध पोखरेल पनि भेटेको कुरो सुनाउँथे। मैले पनि बाग्लुङमा भारद्वाज गोत्री दुध पोखरेलकी छोरी बिहे गर्ने आत्रेय गोत्री दुध पोखरेल (मुकुन्द) लाई भेटेको थिएँ। त्यस्तै, अर्घाखाँचीका भारद्वाज गोत्री पानी पोखरेल (केशव) कालीमाटीमा रामदेवको पसलमा काम गर्थे। प्युठानका पीताम्बर त्यस्तै भारद्वाज गोत्री पानी पोखरेल हुन्। पीताम्बरजी के भन्छन् भने, उनीहरुका पुर्खा पहिले आत्रेय गोत्री पानी पोखरेल नै थिए, तर जुम्लाका राजाले पुरेतको खाँचो हुँदा आफ्ना पुर्खाको गोत्र परिवर्तन गरेर भारद्वाज बनाई दिएकाले हामी भारद्वाज गोत्री पानी पोखरेल भयौँ।
गोत्र परिवर्तनको समस्या :
क. खिदिम (अर्घाखाँची) का पोखरेल :
कृष्णचन्द्र र रेवामणि (२०५७?) को वंशावली अनुसार दुर्गादासका कान्छा छोरा विष्णुदासले बझाङका राजाबाट (अर्घाखाँची) को खिदिम बिर्ता पाए। आज अर्घाखाँचीको खिदिमका पोखरेलहरु आफुलाई भारद्वाज गोत्री दुध पोखरेल भनेर चिनाउँछन्। काठमाडौँमा जताततै पाइने ‘लुम्बिनी तन्दुरी पसल’ अर्घाखाँचीको खिदिमकै भारद्वाज गोत्री दुध पोखरेल भनेर आफुलाई चिनाउने पोखरेलहरुकै पसल हुन्।
ख. रिजु पोखरा (दुल्लु) का पोखरेल :
म पोखरेलहरुको मूल थलो (दुल्लुको पोखरा) पनि पुगेँ। त्यहाँकी एउटी पोखरेल्नीले (रिजु) पोखरामा ४ जातका (उपाद्धे, जोसी, खत्री र हमाल) पोखरेल बस्छन् भनेर चिनाइन्।
बालकृष्ण पोखरेल र जनकलाल शर्मा मलाई के भन्थे भने, दुल्लुमा पढाउन बसेका वेलामा पूर्ण प्रकाश नेपाल ‘यात्री’ ले त्यो गाउँमा आफुलाई आत्रेय गोत्री पानी पोखरेल र भारद्वाज गोत्री पानी पोखरेल भनेर चिनाउने दुई थरी पोखरेल भेटे अरे। आफुलाई भारद्वाज गोत्री पानी पोखरेल भन्नेलाई ‘शिखरनाथ भाष्य’ देखाएर तिमीहरु भारद्वाज गोत्री दुध पोखरेल भनेर आफुलाई चिनाओ भनेर ‘यात्री’ ले दिएको सुझाव मानेर आफुलाई भारद्वाज गोत्री दुध पोखरेल भनेर चिनाउन थालेका पोखराका केही पोखरेलहरु आज सबै आफुलाई भारद्वाज गोत्री दुध पोखरेल भनेर चिनाउँछन्। दुल्लुकै भूपाल विक्रम शाह (डा० राजाराम सुवेदीका चेला) आत्रेय गोत्री दुलाल ठकुरी हुन्। उनीहरुको कुरो सही थाप्तै भूपाल विक्रम शाह के भन्छन् भने, एउटै खलकका रिजु पोखराका पोखरेलहरु मलाम जाँदा खालि गोत्रका विषयमा झगडा गर्छन्।
लाफु (सिम्ता, सुर्खेत) का ‘लाफुल्ले’ (‘लाभुल्याल’) पोखरेल :
दुल्लुकै नजिकका आफन्त सुर्खेतको सिम्ता (लाफु) का पोखरेल (लाफुल्ले पोखरेल=कृष्णचन्द्र पोखरेलको वंशावलीको परिशिष्ट अनुसार ‘लाभुल्याल’) यज्ञ आत्रेय चाहिँ काशीदासबाट १३ औँ पुस्ताका निम्बु(कर) का साइँला छोरा सैगुण (जयानन्द/चाबा/केलु/पहाडी/पहारी) पोखरेलका ४ जना छोरा (मभी, चाचल्य, जगतानन्द र माझाली?) मध्ये चाचल्यका सन्तान हुन्। यज्ञ आत्रेय पोखरेलको लेख पनि यस अङ्कमा समाविष्ट छ।
पानी पोखरेल (आत्रेय) र दुध पोखरेल (भारद्वाज): दुइटा गोत्र
क. दुध पोखरेल र पानी पोखरेल गरी पोखरेल दुई किसिमका हुन्छन् र तिनीहरुको गोत्रै फरक हुन्छ भन्ने कुरो सबै पोखरेललाई थाहै छ, तर माथिका प्रसङ्गहरुबाट नेपालमा पहिलेका पानी पोखरेलले पनि गोत्र परिवर्तन गरेर भारद्वाज गोत्री दुध पोखरेल भएका उदाहरण पाइन्छन्, त्यसैले नै पनि होला, नेपालमा पूर्व तिर पानी पोखरेल बढ्ता र पश्चिम तिर दुध पोखरेल बढ्ता पाइन्छन्।
ख. कृष्णचन्द्रका वंशावलीको परिशिष्टमा नै काशीदासले सिजापति राजाले खनाएका दुइटा पोखरी मध्ये एउटामा दुध र एउटामा पानी भरेको कुरा लेखिएबाट पानी पोखरेल र दुध पोखरेल दुवै काशीदासकै सन्तान हुन पनि सक्छन्। यो कुरो जाँच्न मैले दाङका मझगैयाँ (दुध पोखरेल) र प्युठानका खेराली (दुध) पोखरेलको वंशावली हेरेँ, तर पानी पोखरेलको वंशावलीमा पन्थुको हाँगो झन्डै ६० पुस्ता पुगी सक्यो, परमको हाँगो पनि झन्डै ५५ पुस्ता पुगी सकेको छ, तर दुध पोखरेलहरुको वंशावलीमा त्यसको आधा पुस्ता पनि मैले पाइन, त्यसैले मैले त्यो तुलना गर्न पाएको छैन।
ग. यज्ञ पोखरेलको यसै अङ्कमा सुर्खेतकी भगवती देउतीबज्यै सिम्ताली (लाफुल्याल/लाभुल्याल) पोखरेलकी छोरी हुन् भन्ने जानकारी दिएका छन्। पहारी/पहाडीहरुलाई आफु आत्रेय गोत्री पानी पोखरेल भएको प्रमाण स्वरूप सिम्ताको पहारी खोलो चिनाउँदै कृष्णचन्द्रको वंशावलीको परिशिष्टमा त्यसै खोला किनारमा बसेकाले सैगुणलाई नै पहिला पहाडी भनेर चिनाएको कुरो देखाएर आफु आत्रेय गोत्री पोखरेल भएको सूचना दिने पनि यज्ञ पोखरेल नै हुन्। देउतीबज्यैलाई बाल्यकालमा भेरीमा बगाएर छिन्चुका राजीले भेटेर पालेको तर देवकोटाकी (भारद्वाज गोत्री) छोरी भनेर लुकाउने गरेको कुरो पनि विचारणीय छ।
घ. भारद्वाज गोत्रसँग नै किन पटक पटक पानी पोखरेलको गोत्र समस्यामा पर्छ भन्ने कुरामा पनि खोजी गर्नु पर्ने देखिन्छ। पृथ्वीनारायण शाह काशीमा गएर गोत्र परिवर्तन गरेर काश्यप गोत्र लिएको सूचना त इतिहासमा पाइन्छ। त्यस भन्दा अघि कुन गोत्र थियो भनेर सोध्दा ‘भारद्वाज’ गोत्री भनेर ‘मेचीदेखि महाकाली’ मा चिनाइएको छ। चौँतिस ओटा बाइसी-चौबिसी राज्यका सबै चन्द्रवंशी राजाहरु कि अत्रि गोत्र कि आत्रेय गोत्रका हुँदा पृथ्वीनारायण शाहको परिवर्तन हुनु भन्दा अगाडि अत्रि अथवा आत्रेय गोत्र नभएर भारद्वाज गोत्र किन भयो होला! इतिहासमा यसको पनि खोजी हुनु आवश्यक छ।
ङ. डा० राजाराम सुवेदी (२०५२, ‘छिल्लिकोटका चल्ल राजाहरूको खोजीमा’) ले दाङका छिल्लीकोटे राजाहरुलाई एकातिर खस राजा क्राचल्ल र अशोकचल्लसँग जोडेका छन् भन्ने अर्कातिर चाचल्लका सन्तान मानेका छन्। डा० सुवेदीले एकातिर छिल्लीकोटे राजालाई चाचल्लका सन्तान मानेका छन् भने, अर्कातिर ‘चन्द्रवंशीय अत्रिगोत्रीय समाल शाह’ भनिएकामा ‘समुद्रवंशी भारद्वाजगोत्री’ भनेर सच्याउनु पर्ने प्रस्ताव चाहिँ गरेका छन्, तर त्यसको प्रामाणिक आधार चाहिँ दिएका छैनन्। प्युठानी राजाहरुले छिल्लीकोटेलाई छोरी दिँदा दाइजाका रूपमा प्युठानको दाखाक्वाडीका पोखरेलहरुलाई दाङको माझगाउँ बिर्ता दिएर पठाएका हुन्। माझगाउँका बिर्तावाल भएकाले त्यहाँका पोखरेलहरुलाई मझगैयाँ भन्ने चलन छ।
पोखरेलका ५ ओटा गोत्र?
बालकृष्ण पोखरेल आफुले आत्रेय गोत्री, भारद्वाज गोत्री, अत्रि गोत्री, काश्यप गोत्री र गर्ग गोत्री पोखरेल भेटेको छु भन्थे। मैले चाहिँ आज सम्म गर्ग गोत्री पोखरेल भेटेको छैन। त्यस्तै, श्रीधर मझगैयाँले जिरीका पोखरेलको वशिष्ठ गोत्र हुन्छ भन्ने लेखेका छन् अरे!
उत्तराखण्ड (भारत) का पोखरियाल : भारद्वाज र काश्यप
भारतको उत्तराखण्डमा पोखरियाल र पोखरिया गरी दुई थरी पोखरेलसँग थर मिल्ने बाहुन र ठकुरी पाइन्छन्। पोखरियाहरु चाहिँ आफुलाई काश्यप गोत्री भनेर चिनाउने ठकुरी हुन् भने, पोखरियालहरु चाहिँ भारद्वाज गोत्री बाहुन् हुन्।
काशीदासका पूर्वज
क. टुची (१९५६ इ) को अनुसन्धान :
ज्योसेप टुची (१९५६ इ, ‘प्रिलिमिनरी रिपोर्ट अन टु सायन्टिफिक एक्सपेडिसन्स इन नेपाल) ले १६ औँ शताब्दीमा पोखरेलहरु जुम्लाका महीराज साहीका लामा थिए भन्ने सूचना दिँदै चन्द्रवंशी राजाहरुको एउटा वंशावली (१०३-१३०) प्रकाशित गरेका छन्। त्यहाँ ब्रह्माजीबाट सुरु गरेर ७८ पुस्ता सम्म त मिथकीय पात्रका नाम छन्। काशीदासको नाउँ ९५ औँ पुस्तामा आउँछ। काशीदास माथि ११ पुस्ता (७९-८९) का उनका पुर्खाका नाम क्रमश: कन्नौजका राजाहरु (७९. लक्ष्मीचन्द्र राइठोर, ८०. मित्रसेन राइठोर, ८१. सुरसेन राइठोर, ८२. धीर शाह राइठोर, ८३. सुल्तान बादशाहसँग लडाइँ गर्ने मतिमल राइठोर, ८४. अमल शाह राइठोर, ८५. शरु शाह राइठोर, ८६. सुरजन राइठोर, ८७. सिद्धिपाल राइठोर, ८८. जयद्रथ राइठोर, ८९. कर्णधेनु राइठोर) र ९०. देवशर्मा पाध्य, ९१. कश्यप पाध्य, ९२. अत्रीव पाध्य, ९३. हरिशङ्कर पाध्य, ९४. शिवशङ्कर पाध्य देखिन्छन्। यसबाट काशीदास चन्द्रवंशी राजकुलका देखिन्छन्।
ख. यसरी टुचीले काशीदासका १६ पुस्ता माथिका पुर्खा सम्मका नाम दिएका छन्, तर चन्द्रवंशी राजाहरु अत्रि र आत्रेय गोत्र हुने अनेक वंशावलीमा काशीदासका पुर्खाहरुका नाम आंशिक रूपमा मिल्छन्, जस्तै,
(अ) जाजरकोटे राजाको वंशावली : लहरी, हरिदास, तुलसीदास, काशीदास
(आ) समाल वंशावली : शिवशङ्कर, हरिशङ्कर, तुलसीदास, काशीदास
(इ) सल्यानी राजाको वंशावली (डा० राजाराम सुवेदी): लल्लक, विलल्ल, भास्कर, प्रभाकर, काशीदास
(ई) बालकृष्ण पोखरेल (२०४५):
क) (पोखरेल, २०४५): हरिशङ्कर, शिवशङ्कर
ख) महाकाली अञ्चल : ब्रह्मभद्र, गोपालभद्र, अविगत, विगत, व्यास, विकुश, देवभद्र, काशीदास
(उ) सोम वंशावली : गोपाल, जमुना, व्यास, विकस, काशीनाथ
(ऊ) खत्याडी (डोटी) का बाहुनको वंशावली (यात्री, २०३५): गोपालभट्ट, अविगत, विगत, व्यास, काशी
(ऋ) गोतामे वंशावली : ऋतुभद्र, अमुक, गोपालभद्र, व्यासभद्र, विकुभद्र, कुशिकभद्र, जयेन्द्र, काशीदास, लल्लक, गोतामदास, शिवदास, विष्णुदास
(ऌ) गौतम वंशावली (परशुराम गौतम, २०३९): अमुक, ऋतुभद्र, गोपालभद्र, व्यासभद्र, विकुभद्र, कुशिकभद्र, लल्लक, काशीदास
(ऍ) पौडेल वंशावली : रङ्गनाभ, पुरनाभ, ब्रह्मनाभ, प्रसरनाभ, भीमदेव, पूर्णदेव, देवदेव, कुमारदेव, शक्तिभद्र, पृथ्वीभद्र, कुबेरभद्र, उदयभद्र (काशीदास?)
(ऎ) सिग्देल वंशावली (२०६१): सोमनाथ, रङ्गनाभ, पुरनाभ, ब्रह्मनाभ, प्रसरनाभ, भीमदेव,पूर्णदेव, देवदेव, शक्तिभट्ट, पृथ्वीभट्ट, कुबेरभट्ट, (१. प्रकाशाचार्य, २. काशीभट्ट, ३. उदयभट्ट/कुशभट्ट)
काशीदासका सन्तान थरी थरीका : जात र थरको विविधता
अत्रि र आत्रेय गोत्र हुने बाहुन, छेत्री र चन्द्रवंशी राजाहरुका वंशावलीहरु भिडाउँदा अर्जेल, पौडेल र खतिवडाहरुका वंशावलीमा काशीदासको नामै आउँदैन।
क. पोखरेलको वंशावली अनुसार काशीदासको १३ औँ पुस्ताका निम्बुका (१४) चार ओटा छोरा मध्ये जेठा समाल ठकुरी, माइला गोतामे, साइँला पोखरेल र कान्छा दुलाल भएको देखिन्छ।
ख. काशीदासको वंशावली हेर्दा एकातिर जातमा अर्कातिर गोत्रमा परिवर्तनशीलता देखिन्छ। जनकलाल शर्मा भन्थे, ‘इतिहासमा धेरै राजाहरु बाहुन हुँदा फाइदा देखे भने, बाहुन हुन्थे; छेत्री हुँदा फाइदा देखे भने, छेत्री हुन्थे।’ वंशावलीकै अध्ययन गर्दा राजाहरुलाई पुरेत अथवा ज्वाइँ चाहियो भने, अरुको गोत्र परिवर्तन गर्थे अनि सगोत्रीलाई मार्नु पर्यो भने, आफ्नै गोत्र परिवर्तन गर्थे भन्ने देखिँदो रहेछ। पोखरेलहरु दरबारिया हुनामा पनि उनीहरु राजाकै गोती भएकाले हुन सक्छ। दरबार सँगसँगै पोखरेलहरु पूर्व तिर सरेको देखिन्छ।
ग. जेम्स टड (१८९५ इ, ‘एनल्स एन्ड एन्टिक्विटिज अफ राजस्थान) ले राजस्थानीहरुको वंशावलीको अनुसन्धानका आधारमा राजस्थानको इतिहास लेखेका छन्। त्यसमा चित्तौरका एउटा राजकुमार नेपाल पसे भन्ने लेखिएको छ।
घ. राजस्थानीहरु आधारभूत रूपमा शक हुन्। मूलत: शकहरु इरानी हुन्, तर शकहरु पुरै युरेसिया भरि हजारौँ वर्षदेखि छाप्छाप्ती छन्। खस जाति पश्चिम र मध्य हिमालमा बसोबास गर्ने शकहरुकै एउटा मस्टो मान्ने बगाल हो। फरक के छ भने, सबै खसहरु चाहिँ मस्टो मान्छन्, शकहरु त खसहरुसँग लामो हिमखिम भएर मात्र मस्टो मान्ने भएका हुन्। जब जब शक शासकहरु सङ्कटमा पर्छन्, तब तब तिनीहरु मध्ये राजस्थानीहरु चाहिँ मध्य हिमालय तिर उक्लिन्छन् ।
निष्कर्ष :
काशीदासका पुर्खाहरु पनि त्यसै कारण मध्य हिमालयमा आई पुगेका हुन्। जात, थर, विवाह, पुरेत्याइँ र राजनीतिक र सामाजिक कारणले काशीदासका सन्तानका नाम, थर, गोत्र, जात र पुर्खाको नामावली फरक परे जस्तो देखिन्छ ।
000
No comments:
Post a Comment