पूर्वी नेपालका सफल चित्रकार र संस्कृतिका राम्रा ज्ञाता डिट्ठा यज्ञप्रसादको एउटा नाति हुँ भन्न पाएको हरेक अवसर मलाई कुनै स्वर्ग अवसरमा भाग लिन पाएको अनुभव हुन्छ । पानी पोखरेलको वंश मौलिक रूपमा बाहुन श्रेणीमा गनिन्छ तापनि यिनले धारण गरेको आत्रेय गोत्रलाई पुराणहरूले क्षत्रिय मान्यता दिएका छन् । आत्रेयहरूलाई अब त थाहा छैन तिनको मूल क्षत्रिय हो भन्ने कुरो । प्रायः अर्थतन्त्र र राजनीति धेर रुचाउने पानी पोखरेलको खालमा जन्मेर पनि मेरा हजुरबुबा डिट्ठा यज्ञप्रसादलाई संस्कृतको ज्ञान भनेपछि हुरुक्क हुने पार्यो आफ्नी विदूषी आमा कृष्ण पिङ्गलाको प्रेरणाले । माता कृष्ण पिङ्गला थिइन् माधवपुरे बराल डाक्टर ईश्वर बरालका पिता देवरञ्जन बरालकी फुपू । यहीं कारण हो देवरञ्जन बराल न्यायाधीश यज्ञप्रसादलाई फुपाज्यू भन्नुहुन्थ्यो र मेरा पिता शारदाप्रसादलाई भाइ भन्नुहुन्थ्यो । ठूला विद्वान् डाक्टर ईश्वर बराललाई बनारसमा पढाउँदा बेलामौकामा उहाँका पिताले केही रकम चलाएको हुँदा जीवनको अन्तिम समयमा उहााले सो तिर्न मसँग पत्राचार गर्नुभयो । सापटी दिने व्यक्ति (मेरा पिता) जीवित नभएकोले त्यो पैसा मैले लिनु उचित ठानिनँ । यो कुरो मेरो निबन्ध (चुक्ता हुन बाँकी ऋण) मा व्यक्त छ ।
सं. १९८८ मा सबैलाई छोडेर जाने डिट्ठा यज्ञ आफूलाई निरामिष भन्नुहुन्थ्यो, तर दिनहुँ छाकै नबिराई उहाँलाई खसीको कलेजो (धार्मिक दिनमा बाहेक) चाहिन्थ्यो । मेरा पिताको नाडी हेरेर उहाँले मासु त्याग्ने सल्लाह दिनुभयो । तर मेरा पिताले जवाफ दिनुभयो, “आफू सधैँ मासु खाने हामीलाई छोड् भन्ने ।”
डिट्ठा यज्ञको उत्तर थियो, “मैले मासु हैन मेरो बैध्यले खा भनेकोले कलेजो खाएको हुँ । मेरो बैध्य भन्छ, तँ कलेजो पनि खान खोड् । त्यसो भए तँ पनि निकै वर्षसम्म बाँच्छस् ।”
उहाँले आफ्ना पिताको देहान्तपछि बल्ल उहाँको बोलीको अर्थ बुझ्नुभयो र उहाँले मासु खान छोड्नुभयो । उहाँ भन्नुहुन्थ्यो, “यदि अलि कलिलै उमेरमा मासु खान छोडेको भए म पनि असीभन्दा धेर बाँच्ने थिएँ ।”
सं. १९३३ मा रंगेली सदरमुकाम आउदा यज्ञप्रसादको उमेर ४० भएछ । हाकिम यज्ञले त्यो अदालतमा गरेको पहिलो महत्वपूणर् काम थियो किशोर देवीप्रसाद सापकोटालाई जेलबाट छुटाएर अदालतको एक कर्मचारीमा नियुक्त गर्नु । डिट्ठा यज्ञले त्यस युवकबाट उर्दू, अङ्ग्रेजी र बङ्गालीको ज्ञान गरेको बुझिन्छ र डिट्ठा यज्ञबाट देवीप्रसाद सापकोटाले अङ्ग्रेजी सिकेझैँ छ । चित्रकलाको ज्ञान डिट्ठा यज्ञलाई आनुवंशिक संसर्गबाट (मातृपक्षद्वारा) भएझैँ छ । आफ्ना पिता लक्ष्मी विलासका कान्छा छोरा विद्यापति (जन्म सं. १८५८) को एउटा कृति डिट्ठा यज्ञको दराजमा भेटेर मेरा काकाले आफ्नो बागबजारको घरमा राख्नुभएको रहेछ, पछि बूढेसकालमा उहाँबाट त्यो मैले पाएँ र विद्यापतिलाई हीनव्याकरणी विद्यापति नाम दिएर मेले उहिल्यै स्व. कमलमणिको पत्रिका नेपालीमा छपाएको थिएँ । मैले उनको स्रष्टाले मनपराएको ‘हिनव्याकरणी’ व्याकरणमा दरिद्र) भन्ने भनाइको आशय नबुझेर उनलाई यही उपनाउँमार्फत् निचाएको थिएँ । पछि मलाई थाहा भयो यो हीनव्याकरणी त मेरा हजुरबा (डिट्ठा यज्ञप्रसाद)की विदुषी माता (बरालपुत्री) कृष्णापिङ्गलाले आफ्नो देवर विद्यापतिलाई मायाँ गरेर दिएको उपाधि पो रहेछ । विद्यापति पठित भए पनि भाउज्यू बरालपुत्री कृष्णपिङ्गला उनको व्याकरणको कमजोरीका आधारमा तिनलाई ‘हीनव्याकरणी’ भनी मायँ गर्थिन् । भाउजू कृष्णपङ्गिलाले दिएको उपनामलाई घृणा नगरी विद्यापतिले आफ्ना कृतिमा प्रयोग गर्ने गर्थे । संजोगले डिट्ठा यज्ञको मृत्युको निकै पछि उनका साहिँला छोरा सर्दार नारायणप्रसाद पोखरेलको सङ्कलन बागबजारमा फेला पारेर मैले कमल बाबूलाई दिन पाएँ । डिट्ठा यज्ञले साँचेर राखेकोले नेपाली काव्यको इतिहासमा ठाउँ पाए विद्यापति । मलाई थाहा भएको कुरो के हो भने हीन व्याकरणी विद्यापति श्री ५ रणबहादुर शाहको जोसमनि समाजका नेता ज्ञानमणका मित्र हुन् । यिनी आदिकवि भानुभक्तभन्दा जेष्ठ कवि हुन् । यिनी काठमाडौँका आरन बस्ने ठाउँ शोभा भगवती मन्दिरको निकटको इलाका थियो ।
न्यायका मूर्तिहरू साहित्यिक भावमा लेपासिएको उदाहरण अचेल हामी गुरूप्रसाद मैनाली र कृष्ण प्रसाईं चापागाईंमा पाउँछौं । न्यायमा जङ्गबहादुरको शासनमै हात हाल्ने डिट्ठा यज्ञप्रसादले साहित्यको लागि बनाएको जुन हो आफ्ना काका (हीन व्याकरणी) विद्यापतिको इतिहास गुम्न नदिनु । उदयपुरका नामी कवि लोकनाथ पोखरेलका पनि बाजे पर्दथे हीनव्याकरणी । यसरी मेरा त बराजु परिहाले यिनी डिट्ठा यज्ञका काका पर्ने प्रतिभा ।
यिनका भतिजा (मेरा हजुरबा) यज्ञप्रसाद पोखरेल (१९०७) ठूला न्यायाशीस हुनुका साथै विशिष्ट चित्रकार अनि आयुर्वेदिक चिकित्सक पनि थिए । हैजा झण्डै प्रतिवर्ष गाउँहरूमा प्रवेश गर्ने त्यस युगमा उनको गाउँ (रूपाटार) को आसपासमा छिर्दैनथ्यो रे । कत्रो भावुक र लाक्षणिक छ गाउँको यो भनाइ । उनी एक स्थापित वैद्य भएकैले नेपालका जेठा रैती प्रधानमन्त्री मातृका बालककालमा १२ वर्षको उमेरमा मेरो हजुरबा डिट्ठा यज्ञको घरमा रूपाटारमा छ महिना बसेथे । कति भाग्यमानी त म त्यसरी प्रथम प्रधानमन्त्रीलाई बचाउने रूपाचारको आधारमा रूपाबासी हुँ भन्दैछु । रूपाबासी अर्थात् मैयाँ रूपारानीको छोरो । रूपारानी अर्थात् बृहस्पतिकी पत्नी तारालाई हाम्रा संस्कृत वाङ्मयले दिया नाम । तारा ! हो, त तारा, जो टायरभूमिकी राजकुमारी युरोपा हुन् । हो तारा भन्थे युरोपा मैयाँलाई किनभने तिनको जन्मभूको नाम टायर थियो । बालि इन्द्रले तारासँग प्रेम गरेर जन्माएको छोरो हो भन्द पुराण । तिनै तारासँग सूर्यले प्रेम गरेर जन्माएको छोरो सुग्रीव हुन् भन्छ पुराण । इन्द्रलाई शत्रु मान्ने सूर्यले रामको हातबाट बालिको बध गरे भन्छ पुराण । कथाहरू अलिक बाझ्छन्, तर त्यहाँ बालि इन्द्रतिरको र उसको भाइ सूर्यतिरको भन्ने सत्य छोपिन्न । इन्द्रको शत्रु मेघनादलाई मारी रामायपणको सूर्यपुत्र हनुमान्को सहयोगले लक्ष्मणलाई बचाएको छ । श्रीकृष्णले पनि गोबर्धन गिरिको रक्षार्थ जनता उचाली इन्द्रलाई भगाएका छन् । यसरी रामायण-महाभारत दुवैतर्फ सूर्यदेवको जय र इन्द्रको पराजय भएको छ ।
000
No comments:
Post a Comment